काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन भए पनि आन्दोलनमा नभएको बताएका छन् ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आन्दोलनलाई शान्त पार्न भूमिका खेलेको उनले जाँचबुझ आयोगलाई बयान दिएका थिए ।
कान्तिपुरले आयोगको प्रतिवेदनको विवरण प्राप्त गरेको छ । त्यसमा समावेश बयानमा उनले २४ भदौको आगजनी नियन्त्रणका लागि महानगरले समयमै दमकल पठाएको र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रणमा लिएको समेत जिकिर गरेका छन् ।
बयानमा उनले तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको आरोप पनि लगाएका छन् ।उनले भने, ‘सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ ।’ विगतमा सामाजिक सञ्जालमा लेखेको विवरणबारे समेत आयोगले उनलाई प्रश्न सोधेको थियो । त्यसक्रममा उनले भनेका छन्, ‘काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप मेटाफोरका रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा 'जलाई दिन्छु' शब्द प्रयोग भएको थिएन ।’
उनले आफ्नो सामाजिक सञ्जालको अभिव्यक्तिले आन्दोलनलाई शान्त पार्न मद्दत गरेको भन्दै महानगर प्रहरी र अन्य विभागसँग समन्वय गरेर घाइते र मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरेको उल्लेख गरेका छन् ।