प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरुबीच आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाई दिएका छन्। उनले छोटो समयमै देशलाई लोकतान्त्रिक निकास दिन सफल भएको भन्दै सरकारको प्रशंसा गरे।

प्रधानमन्त्री कार्कीले पनि रास्वपालाई निर्वाचन सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर काम गर्न र जनताको अपेक्षा पूरा गर्न सुझाव दिइन्। उनले देशवासीका अपेक्षा धेरै रहेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गरेर परिणाम दिन आग्रह गरिन्।

भेटमा समसामयिक राजनीतिक विषयका साथै विदेशमा रहेका नेपाली र श्रमिक सुरक्षाका विषयमा पनि छलफल भएको थियो।