काठमाडौं। भर्खरै सम्पन्न प्रतिनिधिसभा चुनावमा लज्जास्पद पराजय भोगेपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न एमालेभित्र तीव्र दबाब बढिरहेको छ । हुन त गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनपछि नै ओलीलाई नेतृत्व छोड्न दबाब सुरु भएको थियो ।
नेपाली कांग्रेससँगको गठबन्धनमा प्रतिनिधिसभामा दुईतिहाइ बहुमतको प्रधानमन्त्री रहेका ओलीलाई ‘जेन-जी’ आन्दोलनले अपदस्त गरेको थियो । विरोधीहरूले ‘जेन-जी’ आन्दोलनमा भएको हत्या र विध्वंसको कारण एमाले अध्यक्षलाई नै मान्ने गरेका छन् । पार्टीभित्र र बाहिर नेतृत्व छोड्न चौतर्फी दबाब भए पनि ओली मंसिर अन्तिम साता पार्टीको अर्ली महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष निर्वाचितभए।
प्रतिस्पर्धी ईश्वर पोखरेललाई शानदार मतले पराजित गरेर पार्टी नेतृत्वमा पुनः अनुमोदित भएपछि ओलीविरुद्ध पार्टीभित्रको मत कमजोर भयो । तर, ‘जेन-जी’ आन्दोलनपछि भएको पहिलो प्रतिनिधिसभा चुनावमा नेकपा एमालेले मात्र नभई स्वयं अध्यक्ष ओलीले लज्जास्पद हार भोग्न बाध्य भए।
प्रतिनिधिसभा चुनावमा पराजय बेहोरेपछि नेकपा एमाले यतिबेला इतिहासकै सबैभन्दा कठिन र रक्षात्मक मोडमा पुगेको छ । मंसिर २७ देखि पुस ३ सम्म ११औँ महाधिवेशनबाट केपी ओलीको नेतृत्वलाई अझ सुदृढ गरेर प्रतिनिधिसभाको चुनावमा होमिएको एमालेले शर्मनाक पराजय भोगेको छ । यो हारले पार्टीको ७० वर्ष लामो विरासत र महाधिवेशनबाट तेस्रोपटक अध्यक्ष चुनिएर आएका ओलीको शक्तिशाली छविमाथि गम्भीर धक्का लागेको छ । चुनावमा ओलीदेखि पदाधिकारी सबै पराजित हुनु र प्रत्यक्षतर्फको सिट संख्या इतिहासमै कम हुनुले एमालेको सांगठनिक पकड भत्किएको स्पष्ट देखिएको छ । ६ लाखभन्दा बढी संगठित सदस्य र बलियो संगठन भएको दाबी गर्ने एमाले अहिले संसद्मा इतिहासमै कमजोर अवस्थामा पुगेको छ ।
चुनावमा पराजित भएपछि नैतिकता र जिम्मेवारीको प्रश्न उठाउँदै एमालेका शीर्ष तहका नेताहरूसहित तल्लो तहका नेता/कार्यकर्ता समेत ओलीलाई राजीनामा गर्न दबाब दिइरहेका छन् । पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, वर्तमान उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरू अध्यक्ष ओलीको राजीनामाको लागि खुला रूपले दबाब दिँदै आएका छन् । विगतदेखि नै ओलीलाई साथ दिँदै आउनुभएका उपाध्यक्ष विष्णु पौडेल पनि पछिल्लो समय नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । लज्जास्पद परिणाम आउनुको मुख्य कारण अध्यक्ष ओलीको कार्यशैली रहेको भन्दै अब राजीनामा दिएर मार्गप्रशस्त गर्न नेताहरूले माग गरिरहेका छन् ।
त्यसो त ओलीले राजीनामा दिएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा पदाधिकारी नै बहुमत भए पनि मुख खोल्नुभएको छैन । आमरूपमा तलदेखि माथिसम्मकै नेताहरूले नेतृत्व छोडनुपर्ने मत राखिरहँदा अध्यक्ष ओलीले भने कुनै संकेत दिएका छैनन् । उपाध्यक्ष पौडेलले पार्टीको नेतृत्व र नीतिबारे पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । निर्वाचनको परिणामलगत्तै उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रूपमै नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने र नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । ओली पक्षका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीको कार्यशैली र नेतृत्वको अहंकारकै कारण जनताले दण्डित गरेको टिप्पणी गर्दै भने, ‘अहिलेसम्म चुनावको समीक्षा त भएको छैन । पार्टीमा गर्नुपर्ने धेरै छ । तलबाट रिभ्यु गरेर हुँदैन । माथिबाटै गर्नुपर्छ ।’
तर, ओलीलाई नेतृत्व छाड्ने दबाब दिने नेताहरूले पनि विकल्प भने अघिसार्न सकेका छैनन् । अध्यक्षको राजीनामा मागेपछि सिर्जना हुने रिक्ततालाई लिएर नेताहरूले स्पष्ट जवाफ दिन भने सकेका छैनन् । ओली नेतृत्वमा रहिरहे पार्टीमा नयाँ रक्तसञ्चार नहुने र जनमत झन् घट्ने नेताहरूले दाबी गरे पनि तत्काल विकल्प भने तयार भइसकेको देखिँदैन । ओलीले छोडे उत्तराधिकारीको लुछाचुँडीले पार्टी झन् संकटमा पुग्ने कतिपय नेताहरूको आशंका छ । ओलीको राजीनामा माग्ने नेताहरू परिपक्व नभएको उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको दाबी छ । केही नेताहरूले आगामी सचिवालय बैठक र केन्द्रीय कमिटी बैठकमा ओलीको राजीनामा माग्ने तयारीसमेत गरेका छन् ।
हिमालय टाइम्स दैनिकबाट