काठमाडौं। प्रतिनिधि सभामा १८२ सिट जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन्।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत १२ गते संसद् भवनमा शपथग्रण गर्ने र त्यसपछि संसदीय दलको हालको विधान परिमार्जनलाई अन्तिम रूप दिएर संसदीय दलको नेता चयन गर्ने तयारी रहेको छ।
संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीको शपथग्रहण गर्नेबारे प्रक्रिया अघि बढाउने गरी सभापतिमा रवि लामिछाने, प्रधानमन्त्रीका उम्मेदवार एवं वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरु प्रधानमन्त्रीको शपथको लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव पठाउने, शपथ समारोहमा विदेशी राष्ट्रलाई आमन्त्रण गर्ने लगायतबारे गृहकार्य भइरहेको जनाइएको छ।
रास्वपाको विधान, २०७९ को धारा ६६ मा सङ्घीय संसद्मा निर्वाचित साधारण सदस्य रहने तथा धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। उक्त विधानमा पार्टीका तर्फबाट सङ्घीय निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारबाट प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन गर्नुपर्ने उल्लेख छ।
रास्वपा गठन भएसँगै पार्टीको विधान महाधिवेश भइनसकेको अवस्थामा उक्त विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिमा छ। सोही अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई विधान परिमार्जन गरी संसदीय दलनको नेता चयन गर्नेबारे र सोही अनुसार सरकार गठनका लागि रास्वपा नेताहरु आन्तरिक गृहकार्यमा जुटेका हुन्।
सांसदको शपथको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ र मन्त्रीपरिष्द गठनको तयारीमा रहेको रास्वपाले १५ देखि १८ सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने तयारी रहेको छ।