गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव बैठकमा पेश हुने

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव बैठकमा पेश हुने

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

सभापति थापाले फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै बुधबार उपसभापति शर्मासमक्ष राजीनामा बुझाएका थिए।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत धारणा सार्वजनिक गर्दै उपसभापति शर्माले बैठकमा प्रारम्भिक चुनाव समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ पेश हुने जानकारी दिएका छन्।

उनले सभापति थापाले नैतिक जिम्मेवारी लिनु सकारात्मक भए पनि वर्तमान अवस्थामा पार्टीलाई सम्हाल्नु नै प्रमुख दायित्व रहेको उल्लेख गरे।

शर्माले भने, “नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर यतिबेलाको प्रधान नैतिक दायित्व वर्तमान स्थिति सम्हाल्नु हो। डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन।”