काठमाडौं। फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई हिजै राजीनामा बुझाएका हुन् ।
‘अबकि बार, सय पार’ भन्ने नारा नै बनाएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका छन्। सिंहले ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत मात्र ल्याएका थिए ।
उनले पार्टी र आफैंले समेत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै राजीनामा बुझाएका हुन् । उनको राजीनामाबारे भोलि चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ ।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।