शंकर पोखरेलको दाबी- चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन

शंकर पोखरेलको दाबी- चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाप्रति लक्षित गर्दै चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन् ।

आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा देखिएको “बालेन लहर” लाई सन् १९८४ को भारतीय आम चुनावको “राजीव लहर” सँग तुलना गरेका छन् ।

उनले भने,”जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्। जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन् ।”

उनले फेसबुकमा यस्तो लेखेका छन् :”चुनावको नतिजा र शिक्षा

सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको “बालेन लहर” जस्तै “राजीव लहर” देखिएको थियो। त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो। वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो।

तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो। यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदी को नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ।

यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिन्छ—चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्।

जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन् ।”