रास्वपाका १२५ जना सांसदलाई दुई दिने प्रशिक्षण

रास्वपाका १२५ जना सांसदलाई  दुई दिने प्रशिक्षण

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोलि दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदैछ। रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्रतिनिध सभा सदस्यमा निर्वाचित १२५ सांसदलाई आवासीय सुविधिासहित दुई दिने अभिमुखीकरण प्रशिक्षण दिन लागेको छ।

रास्वपाले आइतबार निर्वाचन आयोगमा पठाएका ५७ जना समानुपातिक सांसदले पर्सी बुधबार निर्वाचित भएको प्रमाणपत्र पाएपछि ५७ जना समानुपातिक सांसदलाई पनि अभिमुखीकरण पशिक्षणमा सहभागी गराउने जनाएको छ।

पार्टीले अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सहभागी हुने सांसदका लागि ७ बुँदे निर्देशन पनि जारी गरेका छन्। जसअनुसार प्रशिक्षण आवसीय हुनेछ भने कार्यक्रम हलमा सहभागी हुने सांसदले मोबाइल प्रयोग गर्ने पाउने छैनन्।

त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ। परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन जारी गरेको छ। सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाउने निषेध गरिएको छ।

सांसदहरूका लागि पार्टीले नै खाना र आवासको व्यवस्था गर्ने भए पनि उनीहरूसँग आउने सवारी चालक वा सहयोगीहरूको व्यवस्थापन भने सांसद स्वयंले नै गर्नुपर्नेछ। चालकहरूको भोजन र आवासको व्यवस्था अन्य होटल वा स्थानमा गर्न पार्टीले आग्रह गरेको छ।