काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिन विश्वकर्माले रास्वपाले निर्वाचनमा अनपेक्षित सफलता हात पारेको बताएका छन्। उनले भने,‘रास्वपाले पनि अपेक्षा नगरेको सफलता प्राप्त गरेको छ।
निर्वाचनको क्रममा रास्वपाका साथीहरुले पनि एक सय कटाउने मात्रै भनेर भाषण गर्नुभएको थियो। सोचेको भन्दा बढि प्राप्त गरेको छ । कांग्रेस, एमाले र नेकपाले सोचेको भन्दा कम ल्याएको छ । रास्वपाले जे मत प्राप्त गरेको छ, हामी पनि प्रक्रियामा पनि सामेल भएको कारण परिणामलाई स्विकार गर्दै रास्वपालाई हृदयदेखि नै धन्यवाद र बधाई भन्न चाहन्छु।’
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले रास्वपाले भ्रष्टाचार अन्त्य गर्छु भनेर भनेको स्मरण गराउँदै अब भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए ।
उनले भने,‘रास्वपाले जादुको छडीजस्तो छु मन्तर गर्छु भनेका छ । अब त्यो हेर्नुपर्ने छ । नेपालको निर्वाचनको इतिहासमा मनोनयन गर्दा अदालतमा धरौटी बुझाएर निर्वाचन आयोग गएको कुनैपनि उम्मेदवार भेटेको छैन । अब सुशासन के गर्नुहुन्छ ? मेरो चाहीँ प्रश्न छ- रवि लामिछानेबाटै सुरु गरेर देखाओस, महान्यायाधिवक्ताको कार्यालयबाट होईन, कानूनी रित पुर्याएर सफाई पाउनुहोस । रास्वपाको पहिचान के हो ? विभिन्न पार्टीबाट एसेम्बल भएर आएकाहरुको पार्टीले गर्छ के ?’
सो क्रममा उनले कांग्रेस नफुटेको जिकिर गरे । अहिले पार्टीको आधिकारिकता कसको भन्ने कुरो अदालतले टुँगो लगाउने उनको भनाई छ । विश्वकर्माले भने, ‘हामीले विशेष महाधिवेशनलाई स्वीकारेका छैनौँ। हामीले निर्वाचनमा सहकार्य गरेका हौँ। तर १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिले विशेष महाधिवेशनलाई चिन्दैन। हामी न्याय माग्दै अदालतमा गएका छौं । आधिकारिकतामा दुवै पक्षको दाबी छ । विशेष महाधिवेशनले गगन थापालाई सभापति भनेको छ, तर १४औं महाधिवेशनले त शेरबहादुर देउवालाई सभापति र पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति मानेको छ । अदालतबाट आउने फैसलाको हामी सम्मान गर्छौं ।’