सप्तरी-३ मा उपेन्द्र यादवलाई कति सहज?

सप्तरी-३ मा उपेन्द्र यादवलाई कति सहज?

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ ।

सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ ।

जनविद्रोहको विरासत र भावनात्मक तरङ्ग
 

मधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो । यो आन्दोलनको नेतृत्वकर्तामध्ये प्रमुख अनुहारका रूपमा स्थापित यादवको उम्मेदवारीले जनविद्रोहको ऐतिहासिक स्मृतिलाई पुनः जागृत गरेको छ ।

स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म मधेशकेन्द्रित राजनीतिक बहस पुनः तीव्र बनेको छ । चुनावी सभाहरूमा सङ्घीयताको रक्षा, समानुपातिक समावेशिता, नागरिकता समस्या समाधान, कृषि–सिँचाइ, रोजगारी र पूर्वाधार विकासजस्ता मुद्दा केन्द्रीय एजेन्डाका रूपमा प्रस्तुत भइरहेका छन् ।

उपेन्द्र यादव राष्ट्रिय स्तरका अनुभवी नेता हुन्, उपप्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव, संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका र मधेशको मुद्दालाई राष्ट्रिय बहसमा स्थापित गर्ने क्षमता उनका प्रमुख राजनीतिक पूँजी हुन् ।

यस पटकको प्रतिस्पर्धामा स्थानीय दलहरूबिच गठबन्धन, शक्ति–सन्तुलन र जातीय–समुदायगत समीकरण पनि निर्णायक कारक बन्ने देखिन्छ । तर यादवको उम्मेदवारीले चुनावलाई ‘स्थानीय विकास बनाम पहिचान राजनीति’ को द्वन्द्वभन्दा माथि उठाएर ‘सङ्घीयताको भविष्य’ सँग जोडिदिएको छ ।

सप्तरी–३ मा मुख्य बहस दुई धारमा देखिन्छ, विकास र पूर्वाधार अन्तर्गत सडक, सिँचाइ, स्वास्थ्य संस्था, शिक्षा र रोजगारी रहेको छ भने सङ्घीयताको प्रभावकारी कार्यान्वयन, प्रहरी समायोजन, प्रदेश अधिकार विस्तार, सामाजिक न्याय हो ।

यादवको चुनावी भाषणमा मधेश बलियो भए सङ्घीयता बलियो हुन्छु भन्ने सन्देश दोहोरिन्छ । यसले स्थानीय मतदातालाई केवल सांसद चयन नभई राजनीतिक दिशा चयनको सन्दर्भमा सोच्न प्रेरित गरिरहेको विश्लेषकहरू बताउँछन् ।

सप्तरी–३ को नतिजाले केवल एक सिटको प्रतिनिधित्व निर्धारण गर्ने छैन, यसले मधेस प्रदेशको राजनीतिक ध्रुवीकरण, राष्ट्रिय गठबन्धनको गणित र संघीय संरचनाको बहसमा नयाँ सन्देश दिनेछ । यदि यादव विजयी भए भने यसलाई मधेस एजेन्डाको पुनः सशक्तीकरणका रूपमा हेरिनेछस पराजय भए संघीय राजनीतिमा नयाँ पुनर्संरचनाको संकेत मानिनेछ ।

सप्तरी–३ को चुनाव अब साधारण प्रतिस्पर्धा होइन, यो मधेशको ऐतिहासिक आन्दोलनको निरन्तरता, सङ्घीयताको स्थायित्व र राष्ट्रिय शक्ति सन्तुलनको परीक्षण हो। उपेन्द्र यादवको प्रवेशले यो क्षेत्रलाई राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ ।