०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं : रवि लामिछाने

०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर बस्न भन्दापनि रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्न सुझाव दिएका छन्।

मंगलबार इटहरीमा रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले आफ्नो कुरा गर्दैगर्दा निर्माण व्यवसायीहरु आत्तिएको प्रतिक्रिया दिए । उनले कानुनले बाँधेर काम लगाउने भनेको हो, मानिसलाई डोरीले बाँध्ने भनेको होइन् भन्दै प्रष्टिकरण दिए।

उनले भने,‘बोल्ने भन्दा काम गर्ने दिन आउँदैछ । रास्वपाले आफ्नो कुरा गर्दैगर्दा कतिपय मानिसहरु आत्तिएको देखिन्छ। म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु–विज्ञप्ति निकाल्न पदैैन् । ठूलाठूला इक्युप्मेन्टहरु कसरी खरिद् गर्ने, रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्नुहोस्। कानुनले बाँधेर काम लगाउने भनेको हो, मानिसलाई डोरीले बाँध्ने भनेको होईन् ।’

त्यस्तै उनले २० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो भन्दै प्रश्न समेत गरे । के के उपकरण र कसरी ल्याउनुपर्ने हो त्यतातिर लाग्न व्यवसायीहरुलाई सुझाउँदै उनले अब देश विकास निर्माणमा जान कसैले रोक्न नसक्ने अठोट गरे।

‘२० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो ? सबै निर्माण व्यवसायीलाई भन्न चाहन्छु–सकेसम्म २–३ सिफ्टमा, रातारात काम गर्न सकिन्छ । तपाईसँग भएका उपकरणहरु पर्याप्त छैनन् होला तर विज्ञप्ति निकाल्नु पर्दैन् । के के उपकरण र कसरी ल्याउनुपर्ने हो त्यतातिर तयारी गर्नुहोस् । अब देश विकास निर्माणमा जान्छ, कसैले रोक्न सक्दैन् ।’
त्यसैगरी शिक्षकहरु पनि संगठित भएको सुन्नमा आएको भन्दै उनले भने,‘शिक्षकहरु पनि संगठित भएको सुनियो, पेसागत संगठन संकटमा पर्यो । पेसागत संगठन खारेज गर्न पाइदैन् भन्ने कुरा सुनियो । तपाईहरु स्र्माट कक्षाकोठा कसरी बनाउने त्यसको योजना बनाउनुहोस् । राजनीतिको ठेक्का हामीलाई दिनुहोस्, हामी गरौला । तपाईको सुरक्षा रास्वपाको नेताले गर्दैन्, रास्वपको नीतिले गर्छ । विद्यार्थीको भविष्य तपाई बनाउनुहोस् ।’

सभापति लामिछानेले ०४६ सालपछिका सबै काण्डको छानविन हुने बताउँदै प्रतिशोध नभएर हिसाब हुने धारणा राखे । उनले रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने भन्दै जनतालाई तयार भएर बस्न आग्रह गरे ।

‘०४६ सालपछिका सबै काण्डको छानविन हुन्छ । प्रतिशोध हुँदैन् हिसाब हुन्छ । जतिपनि लघुवित्त सहकारी लगायतका समाधान निकाल्न नसकेर समस्याग्रस्त बनाएर राख्नेहरुलाई भन्छु । रवि लामिछानेलाई थुन्ने काम बाहेक कुनै मानिसले एक रुपैयाँ फिर्ता पायो ? आरोप मलाई लगाऊ तर अब रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्छ । तयार भएर बस्नुहोला’, उनले भने ।