गौरमा झडप : जनमतका जिल्ला संयोजक जमशेद पक्राउ

गौरमा झडप : जनमतका जिल्ला संयोजक जमशेद पक्राउ

रौतहट । रौतहटको गौर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक एवं सवगढाका पूर्ववडा अध्यक्ष शेख जमशेदलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका वडा नं. ६ सवगढामा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि प्रहरीले जमशेद सहित करीब २० जनालाई नियन्त्रणमा लिएको छ । जमशेदलाई शनिबार बिहान उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

जमशेदलाई हाल जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । झडपका क्रममा १० जना सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरूले ७ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरी नष्ट पारेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौं राउण्ड हवाई फायर गरेको छ ।

दुवै पक्षबीच शुक्रबार ६ बुँदे सहमति भएतापनि शनिबार बिहानैदेखि पुनः झडप सुरु भएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विभिन्न क्षेत्रमा कफ्र्यू जारी गरेका हुन् ।

बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी लैजाने विषयमा सुरु भएको सामान्य विवाद शुक्रबार र शनिबार हिंसात्मक झडपमा परिणत भएको हो । प्रशासनले शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरेको छ भने स्थानीयलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।