रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश

रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ। 

सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै जिल्ला अदालतले तत्काल फिर्ता नहुने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश नितिश राईको एकल इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो। 

सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय हुने आदेश गरेको छ। यसअघि रूपन्देही अदालतले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसकै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो। 

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको हो। यसमाथि सुनुवाइ गर्दै यस सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्रै निर्णय हुने जिल्ला अदालतले आदेश गरेको हो। 
लामिछानेविरूद्ध रूपन्देहीसँगै कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएका थिए।