सुनसरी क्षेत्र नं ४ मा ३३ उम्मेदवार, पुरानालाई नयाँको चुनौती

सुनसरी क्षेत्र नं ४ मा ३३ उम्मेदवार, पुरानालाई नयाँको चुनौती

धरान (सुनसरी)।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं ४ मा ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा रहेका छन्।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपालसहित स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

कांग्रेसबाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट जगदीशप्रसाद कुसियैत, नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, जसपाबाट सविता यादव, श्रम संस्कृति पार्टीबाट विष्णु राणा उम्मेदवार छन्। कांग्रेसबाट उम्मेदवारी दिएका कार्की यस क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन् । उनले विकास, स्थिरता र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर आफ्नो प्रचारप्रसार गरिरहेका छन्।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२ हजार ३४७ मत प्राप्त गरी विजयी भएको कार्की २०७९ सालमा एमालेका उम्मेदवार कुसियैतलाई ११२ मत अन्तरसहित विजयी भएका थिए । “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पुल निर्माण, सप्तकोशी कटान नियन्त्रण, विपन्न समुदायको उत्थान तथा खेलकुद विकासमा योगदान दिँदै आएको छु । अधुरा काम सम्पन्न गर्न पनि म चुनावी मैदानमा होमिएको हुँ”, उनले भने ।

एमालेका उम्मेदवार कुसियैतले कोशी प्रदेश सरकारमा पूर्वमन्त्रीका रूपमा काम गरिसकेका छन् । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेका उनी आठ औँ पटक चुनावी प्रतिस्पर्धामा छन् ।

स्थानीय जनताका आवश्यकता सम्बोधन गर्न र देशमा सुशासन, समृद्ध राष्ट्र र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने संकल्पसहित आफू चुनावी प्रतिस्पर्धामा रहेको कुसियैतको भनाइ छ ।

कुसियैतले २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति गिरिराजप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । उनी २०५३ को उपनिर्वाचनमा र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपाबाट उम्मेदवार रहेका अन्सारीले भ्रष्टचारको अन्त्य र जेनजी युवाहरूको मागलाई सम्बोधन गर्न उम्मेदवारी दिएको बताए ।

सुनसरीका प्रमुख निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार निर्वाच क्षेत्र नं ४ मा ३४ जनाले उम्मेदवारी दिएका थिए । पछि एक जनाले उम्मेदवारी फिर्ता लिए । हाल कायम रहेका उम्मेदवारमध्ये १७ जना राजनीतिक दलका र १६ जना स्वतन्त्र उम्मेदवार रहेको उनले जानकारी दिए । तीमध्ये २९ जना पुरुष र पाँचजना महिला रहेका छन् । यस क्षेत्रमा उम्मेदवारी दिने उम्मेदवारको उमेर २६ वर्षदेखि ७२ वर्षसम्म रहेको राउतले बताए ।

यहाँ स्वतन्त्र उम्मेदवार मो गुलाब अन्सारी कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद भट्टराई ज्येष्ठ उम्मेदवार हुन्।

उम्मेदवारले आफ्ना मुद्दामा सहमत गराउँदै मत तान्ने कसरत गरिरहेका छन् । मतदाताले भने स्थानीय आवश्यकता सम्बोधनको विश्वासिलो प्रतिबद्धता गर्ने उम्मेदवारलाई मतदात गर्ने मनस्थिति बनाएका छन् । सुनसरी निर्वाचन क्षेत्र नं ४ का युवा मतदाता सरोज मेहताभन्छन्, “ग्रामीण विकास र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिनिधि चाहिएको छ । यसका साथै युवालाई रोजगारी, कृषिको आधुनिकीकरण गर्न सिँचाइ सुविधा, मल, बीउ तथा बजार व्यवस्थापनको समस्या समाधान गर्ने आधार दिनेलाई मात्र मत दिने सोच छ ।”

निर्वाचन क्षेत्र नं ४ मा एक लाख ३९ हजार ३३० मतदाता रहेका छन् । यहाँ ७३ हजार २९ पुरुष र ६६ हजार ३०१ महिला मतदाता छन् । यहाँ ४२ मतदानस्थल र १५० मतदान केन्द्र रहेको निर्वाचन कार्यलयले जनाएको छ ।

हाल घरदैलोमा व्यस्त उम्मेदवारलाई यही फागुन ४ गतेदेखि खुला रूपमा प्रचार गर्ने समय दिइएको छ । त्यसलाई मध्यनजर गरी निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको प्रमुख निर्वाचन अधिकृत राउतले बताए ।

जिल्लाका चार वटा निर्वाचन क्षेत्रमा करिब तीन हजार ७४४ जना निर्वाचन कर्मचारी परिचालन हुने उनले जानकारी दिए । “मतदातालाई सुरक्षित वातावरणमा मतदानको व्यवस्था मिलाउन सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय भइरहेको छ । उम्मेदवारलाई निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्न पनि आग्रह गरिरहेका छौँ”, उनले भने ।