नेकपाले प्रत्यक्षतर्फ निर्वाचनमा राम्रो नतिजा ल्याउने प्रचण्डको दाबी

नेकपाले प्रत्यक्षतर्फ निर्वाचनमा राम्रो नतिजा ल्याउने प्रचण्डको दाबी

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २१ फागुनको निर्वाचनमा आफ्नो दलको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको दाबी गरेका छन् । उनले नेता तथा कार्यकर्तालाई अझै उत्कृष्ट नतिजा ल्याउनेगरि काम गर्न निर्देशन दिए ।

बुधबार पोखरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यो निर्वाचनमा कांग्रेस, एमाले र रास्वपासँग नै आफ्नो दलको प्रतिष्पर्धा हुने सुनाए ।

रास्वपालाई लक्ष्य गरेर दाहालले नयाँ भनिएका राजनीतिक दलहरूले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरूमा त्यो नदेखिएको टिप्पणी गरे ।

उनले भने,‘हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिष्पर्धा हुँदैछ देशभरीको निर्वाचनमा भन्ने भनाई सबैले स्वीकारेका छन् । मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गइसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सबैले मेहनत गर्‍यौँ भने अहिले त्यो परिस्थिति बन्दैछ ।’

उनले सबभन्दा नयाँ दल पनि नेकपा नै रहेको दाबी गरे । पार्टीको नाम र चुनाव चिन्हपनि नयाँ रहेको भन्दै उनले नेकपा नै अहिलेको सबभन्दा नयाँ दल भएको दाबी गरे । गत कार्तिक १९ गतेमात्रै नेकपाको नाम र चुनाव चिह्न न्वारान गरिएको दाहालको दाबी छ ।