सरकारी सेवाको सास्ती हटाउन प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्छ : सभापति थापा

सरकारी सेवाको सास्ती हटाउन प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’ को आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन् ।

हालको प्रशासनिक संयन्त्रको आलोचना गर्दै उनले भनेका छन्, ‘नागरिकहरु सरकारको ढोकामा जानै नपरोस् सेवा लिनको लागि । कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ, आम नागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ । सरकारको ढोकामा जानुपर्ने छ भनेपछि एक पटक भन्दा बढी चोटी जान नपरोस् । सेवा लिन गैइसकेपछि धिक्कार सरकार होइन धन्यावाद सरकार भनेर आउनुपर्ने अवस्था सिर्जना गर्न सकियोस् ।’

परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुख दिएको भन्दै उनले प्रविधिको प्रयोगमार्फत यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन् । डिजिटल गभर्नेन्स मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने आफूहरुको स्पष्ट प्रतिबद्धता भएको थापाको भनाई छ ।

राज्यले दिने सेवामा लाइन बस्नुपर्ने बाध्यता र फाइल घुमाएर काम अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधिमैत्री प्रशासन नै एक मात्र विकल्प रहेको उनको भनाइ छ । थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले न्यूनतम सरकारी निकाय, अधिकतम सुशासनको सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने बताएका छन् ।