कांग्रेस उम्मेदवार रामचन्द्र खड्काद्वारा संयमपूर्वक लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त

कांग्रेस उम्मेदवार रामचन्द्र खड्काद्वारा संयमपूर्वक लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त

रामेछाप । नेपाली कांग्रेसका उम्मेदवार रामेछापबाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दै आएका रामचन्द्र खड्काले आगामी फागुन २१ को निर्वाचन अत्यन्त संवेदनशील अवस्था भएको बताएका छन् ।

मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ २३ र २४ को घटनापछि प्रतिनिधि सभा गैरसंवैधानिक रूपमा विघटन भएको र त्यसपछि निर्वाचन अनिवार्य भएको बताएका छन् ।

खड्काले यस निर्वाचनमा संयमताको साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै नयाँ नेतृत्व सहित कांग्रेस चुनावी मैदानमा आएको बताए । उनले यस पटक १ सय ६ जना नयाँ उम्मेदवार प्रतिनिधि सभा सदस्यको लागि प्रस्तुत भएको र नयाँ पुस्ताको आवाज प्रतिनिधित्व गर्न सक्षम हुने दाबी गरे ।

पछिल्लो समय पुराना पार्टीप्रति वितृष्णा फैलाउने प्रयास भएको भन्दै खड्काले भने, “कमजोरी सुधार्नुपर्छ, तर राम्रा कामको छायाँमा पुराना पार्टीलाई बदनाम गर्ने काम देशी–विदेशी शक्तिबाट भइरहेको छ ।” उनले लोकतन्त्रको जीत वा हार यस निर्वाचनमा निर्भर रहने र कांग्रेसले लोकतान्त्रिक शक्तिको अगुवाइ गर्नुपर्नेमा जोड दिए ।

रामेछाप जिल्लाको विकास र समृद्धिलाई आफ्नो प्राथमिकता रहेको भन्दै खड्काले कानुनमा सुधार, नयाँ कानुन निर्माण र सुशासनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे, । उनले निर्वाचनमा संयमित र लोकतन्त्रवादी ढङ्गले अघि बढ्ने रणनीति पनि सार्वजनिक गरे ।