काठमाडौं। संविधानसभा सदस्य तथा पूर्वमन्त्री जीतेन्द्र नारायण देवले एमाले परित्याग गरेका छन्। सोमबार गृहजिल्ला सप्तरीमा पत्रकार सम्मेलन गरेर देवले एमाले त्यागेको घोषणा गरेका हुन्।
उनले लेखेका छन्,‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेराजगारी तथा युवाहरुको आम विदेश पलायनको विरुद्धमा आक्रोशित विस्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह। यसलाई यसै रुपमा नबुझी वा बुझ्न नचाही आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई विदेशी षड्यन्त्र देख्ने, पार्टीलाई व्यक्तिवाद् र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार, नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि एमाले परित्याग गरेको घोषणा गर्दै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु।’
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए। तर पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए । उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका थिए।