२१ फागुनअघि नै ज्ञानेन्द्र शाहलाई गद्दीआरोहण गराउनुपर्छ, अनिमात्रै निर्वाचन

२१ फागुनअघि नै ज्ञानेन्द्र शाहलाई गद्दीआरोहण गराउनुपर्छ, अनिमात्रै निर्वाचन

काठमाडौं। शाही युवा शक्ति नेपालले २१ फागुनको निर्वाचनअघि नै पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीआरोहण गराउन दबाव दिने भएको छ । त्यसको लागि भोलि (शनिबार) काठमाडौंको बल्खुबाट रत्नपार्कसम्म बहृत मोटरसाईकल र्याली र प्रदर्शन गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले अहिलेको गणतान्त्रिक व्यवस्था विषवृक्ष हो भन्ने कुरा प्रमाणित भएकोले राजसंस्था पूनःस्थपना आजको आवश्यकता भएको निश्कर्ष निकालेको छ ।

पत्रकार सम्मेलनमा बोल्दे अध्यक्ष पशुपति खड्काले मुलुक अहिले अत्यन्तै जटिल संकटमा रहेको भन्दै ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजगद्दी आरोहण गराउनुपर्ने आवश्यकता औंल्याए । अहिलेको व्यवस्थामा देशको धर्म समाप्त भएको, युवाहरु बेचिएका र विदेशीहरुको चरम हस्तक्षेप देखिएको भन्दै सबै कुराको अन्त्यको लागि राजसंस्था पूनःस्थापना गरेरमात्रै चुनावमा जाउनुपर्ने मत राखे । भागेको राष्ट्रपतिलाई पूनः बलियो बनाउन र मरिसकेको संविधानलाई ब्यँुताउनको लागि अहिले निर्वाचन गर्न खोजिएको भन्दै यो मुलुकको आवश्यकता नभएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री सुशीला कार्कीसँगको पछिल्लो भेटमा आफूले भागेको राष्ट्रपतिको फोटो हटाएर राजाको फोटो राख्न सुझाव दिएको पनि खड्काले स्मरण गराए । उनले हिजो राजा र जनता मिलेर ल्याएको प्रजातान्त्रको आज चीरहरण भएको बताए । उनले गणतान्त्रिक व्यवस्था निरंकुश शासन व्यवस्था भएको भन्दै आलोचना गरे । देश बचाउनको लागि पहिला राजा फर्काउनुपर्ने भनेर आफूहरुले निरन्तर अपिल गरेको खड्काको भनाई छ । भोलिको कार्यक्रममा व्यापक सहभागिताको लागि पनि अपिल गरे ।

मुलुकको शान्ति सुरक्षा दिगो बनाउनको लागि पनि राजसंस्था चाहिएको उनको भनाई छ । उनले घरबाट बाहिर निस्किएपछि सुरक्षाको प्रत्याभूति नभएको भन्दै हिजोमात्रै काठमाडौंमा डाका समूहलाई नियन्त्रणमा लिनको लागि प्रहरीले कदम चाल्नुपरेको घट्ना स्मरण गराए । निरंकुश गणतन्त्र मानेर भोलि बालेन शाह प्रधानमन्त्री भएर आएपनि देशमा दिगो शान्ति र प्रजातन्त्र दुवै कायम नहुने उनको तर्क छ । उनले २१ फागुनको निर्वाचन कदापि सफल नहुने उनको भनाई छ । सेना परिचालन गरेर निर्वाचन गराउनु प्रजातन्त्र कहाँ छ ? भनेर सोधे ।