काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।
शर्माले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीररुपमा नागरिकको कुरा सुन्नुछ । रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्यसमा पनि नेपाली कांग्रेस जोडिएको छ,’ उनले भने ।
उनका अनुसार गाउँगाउँमा खानेपानीको पहुँच बढेको छ । ‘पानीको समस्या अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, पानीको दुःख अझै बाँकी छन् तर केही प्रगती पहिला भन्दा भएका छन्,’उनले बताए।
उपसभापति शर्माले विद्युत् र सञ्चार क्षेत्रका सुधारको पनि चर्चा गरे । ‘नेपाली कांग्रेस सरकारमा हुँदा वा बाहिर हुँदा पनि कांग्रेसको नीतिगत आधारमै मुलुकमा विकासका कामहरू भएका छन्,’ उनले भने।
यद्यपि उनले कांग्रेसबाट पनि कमजोरी भएका स्वीकार गरे । ‘हामीले गर्न नसकेका धेरै काम छन्, केही कमजोरी हामीबाट भए, जसका कारण नागरिक, मतदाता र युवा पुस्ता हामीसँग रुष्ट भए,’ शर्माले भने ।
उनले पटक पटक सरकार मात्र परिवर्तन भएकाले परिवर्तन भएको अनुभूति नागरिकलाई हुन नसकेको बताए । उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनेपछि परिवर्तन भएको अनुभूति प्रधानमन्त्रीलाई मात्र हुनसक्छ, तर नागरिकलाई त्यो अनुभूति हुन सकेन ।’