नयाँ पनि पुरानै दलको पदचापमा

नयाँ पनि पुरानै दलको पदचापमा

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा पुगिरहेका छन् । तर, यसपटक पनि आफ्ना एजेण्डा, भावी कार्यक्रम र भिजन नभई राजनीतिक दल र उम्मेदवारहरूमा एक–अर्काविरुद्ध विष बमन गर्ने प्रवृत्तिको पुनरावृत्ति भएको छ ।

सुसंस्कृत समाजसहित देश बनाउने आश्वासन दिन नथाक्ने नेताहरूका अभिव्यक्ति विद्वेषपूर्ण हुन थालेका छन् । मुख्यगरी उम्मेदवार बनेका शीर्षस्थ नेताहरू नै आफ्ना प्रतिस्पर्धीको अनुहारमा हिलो छ्याप्न गालीगलौजयुक्त भाषाको सहारा लिन थालेका छन् । यसपटकको चुनावमा गालीगलौजको सुरुवात भने प्रधानमन्त्रीका भावी उम्मेदवारबीच ‘पब्लिक डिवेट’ को विषयले सुरु भएको हो ।

चुनावअघि नै यसपटक केही राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीको उम्मेदवार अघि सारेका छन् । नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पार्टीका वरिष्ठ नेता बालेन साह भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गरिएको छ । भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणापछि सामाजिक सञ्जालबाट प्रधानमन्त्रीका उम्मेदवारबीच ‘पब्लिक डिवेट’ को विषय उठेको हो ।

प्रमुख पार्टीहरूले प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा सहभागी भएकाले थापा, ओली र साहबीच सार्वजनिक बहस (पब्लिक डिवेट) होस् भन्ने चर्चा छ। सामाजिक सञ्जालमा बहसको विषय जोडतोडका साथ उठेपछि प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष ओलीले आफू सार्वजनिक बहसमा आउन तयार रहेको बताए। सामाजिक सञ्जालमार्फत ओलीले सार्वजनिक बहसका लागि तयार रहेको आग्रहयुक्त स्टाटसमुनि रास्वपाबाट प्रधानमन्त्रीका भावी उम्मेदवार साहले सार्वजनिक बहसको आग्रह इन्कार मात्रै गर्नुभएन तल्लोस्तरको आरोप नै लगाए।

ओलीको आग्रहयुक्त स्ट्याटसमुनि बालेनले लेखेका छन्, ‘तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ प्रतिस्पर्धीप्रति असहिष्णु र आक्रामक बन्दै गर्दा नेताहरूका अभिव्यक्ति व्यक्तिमात्र सीमित नभई समुदाय लक्षितसमेत हुन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको केही दिन अघिको अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुर्‍यायो, जसको ओली र बस्नेतको पार्टीभित्रैबाट चर्को आलोचनासमेत भएको छ । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि पहिलोपटक गत माघ ५ गते जनकपुरमा राजनीतिक भाषण गरेका बालेनले ‘मधेसीया छौरा’ प्रधानमन्त्री बन्न लागेकाले भोट दिन आग्रह गरेका थिए। ‘मधेसीया छौरा’ को अर्थ मधेसी छोराछोरी भन्ने हुन्छ । तर, एमाले सचिव महेश बस्नेतले अर्थको अनर्थ हुनेगरी टिप्पणी गर्दै बालेनले मधेसी समुदायलाई ‘छाउरा’ भनेको भन्दै शब्द बंग्याए।

बस्नेतको अभिव्यक्तिप्रति एमालेभित्रै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले नै कडा आलोचना गरेका थिए । चर्को आलोचनापछि बस्नेतले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गरेका थिए। बालेन साह आगामी निर्वाचनको लागि झापा–५ बाट उम्मेदवार बनेका छन्। अध्यक्ष ओली पनि त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेका छन्। हुन त ओली र बालेनको एक–अर्काप्रति अशोभनीय टिप्पणीको लामो शृंखला छ । केहीदिन अघि एक अन्तर्वार्तामा अध्यक्ष ओलीले बालेनलाई गुइँठा बाल्ने ठाउँबाट दमकजस्तो सफासुग्घर ठाउँमा चुनाव लड्न आएको आशय लाग्नेगरी अभिव्यक्ति दिएका थिए। ६ माघमा झापाको दमकमा मनोनयन दर्ता गर्ने क्रममा पनि एमाले र रास्वपाका कार्यकर्ताबीच झडपसमेत भएको थियो ।

प्रतिस्पर्धी दल र नेताप्रति आरोप लगाउनेमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल पनि अग्रस्थानमा देखिएका छन्। मंगलबार मात्रै संयोजक दाहालले रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन साहलाई स्थापित गराउन देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाए। दाहालले विचार र सिद्धान्तभन्दा पनि ‘स्टण्ट’को भरमा लोकप्रिय हुनेहरूलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरे पनि कुन शक्तिले कति लगानी गरिरहेको छ भने कुनै तथ्य भने पेस गरेनन्। विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले झापा-२ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार स्वागत नेपाललाई सचेत गराएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं निर्वाचन आयोगलाई लाञ्छित गर्नेगरी अभिव्यक्ति दिएपछि पोखरामा ५ माघमा पक्राउ परेका थिए।

प्रधानमन्त्रीका भावी उम्मेदवारद्वय ओली र साहबीच गैरराजनीतिक आरोप–प्रत्यारोप चलिरहँदा अर्का उम्मेदवार कांग्रेस सभापति गगन थापा भने संयमित देखिएका छन्। विशेष महाधिवेशनबाट पार्टी सभापतिमा चुनिएपछि कार्यभार सम्हाल्न पार्टी कार्यालय गएकै दिन थापाले चुनाव प्रचारका क्रममा आफ्ना एजेण्डा प्रस्तुत गर्न तर अन्य राजनीतिक दल, नेता, उम्मेदवार र कार्यकर्ताप्रति लाञ्छना नलगाउन निर्देशन दिएका थिए। सभापति थापा अहिले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही-४ मा केन्द्रित रहेका छन्।

पार्टी नेता तथा कार्यकर्ता र मतदातासँगको भेटघाटका क्रममा पनि उहाँका अभिव्यक्ति संयमित र मर्यादित देखिएका छन् । कांग्रेस सभापति एवं सर्लाही क्षेत्र नम्बर–४ का उम्मेदवार थापाले मतदातासमक्ष आफू सर्लाहीमा फोटो खिचाउन र हात हल्लाउन मात्र नभई जनताको सेवक बन्न आएको बताएका छन्। चुनावी प्रचारका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘म यहाँ एकछिन आएर, बोलेर, हात हल्लाएर र फोटो खिचाएर जान आएको होइन । म तपाईंहरूकै हुन आएको हुँ, तपाईंहरूको अंग र अंश हुन आएको हुँ।’

हिमालय टाइम्स दैनिकबाट