काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुन्। देव्रे खुट्टामा लागेको चोट बढेर संक्रमण भएकाले उनी अस्पतालमा भर्ना भएर उपचाररत रहेको उनका स्वकीय सचिव अविनाश आचार्यद्वारा सूचनामा उल्लेख छ।
देब्रे खुट्टामा लागेको चोटमा संक्रमण फैलिँदै छालाको भित्री तहसम्म पुगेकाले चिकित्सकको सल्लाहअनुसार अस्पतालमै निगरानीमा राखेर उपचार भइरहेको छ।
स्वकीय सचिव आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा लागिएको सामान्य चोट समयसँगै बढेर ‘सेल्युलाइटिस’ संक्रमणको रूपमा देखिएको बताउनुभएको छ। चिकित्सकहरूले यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने जनाएपछि केही दिन अस्पतालमै राखेर उपचार गर्नु अनिवार्य भएको उनले उल्लेख गरेका छन्।
आचार्यका अनुसार चोट आफैं गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्यमा सुधार आएपछि मात्रै सभापति लामिछाने पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किनेछन्।