सामुहीक विवाह : लत्ता कपडासँगै भोजभतेर व्यवस्थापन गाउँपालिकाले गर्ने

सामुहीक विवाह : लत्ता कपडासँगै भोजभतेर व्यवस्थापन गाउँपालिकाले गर्ने

सुनसरी: सुनसरीको कोसी गाउँपालिकाले विपन्न परिवारको सामूहिक विवाह गरिदिने भएको छ । दाइजो प्रचलनका कारण गरिब तथा विपन्न परिवारलाई समस्या भएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो । विपन्न परिवारका छोरा–छोरीको सामूहिक विवाह गरिदिने भएपछि स्थानीयहरू खुसी भएका छन् ।

चौथो गाउँसभाबाट स्वीकृत कार्यक्रमअनुसार हुन लागेको विवाहका लागि दर्ता खुलेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले मंसिरको अन्तिम साता विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामूहिक विवाह गरिदिन लागेको बताए ।

गाउँपालिकाका अनुसार, इच्छुक व्यक्ति तथा अभिभावकले मङ्सिर १७ गतेसम्म नजिकको वडा कार्यालय वा गाउँपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गराएर लाभ लिन सक्नेछन् । आ–आफ्नै परम्परागत विधि विधानअनुसार जोडीको विवाह गर्ने तयारी छ । बेहुला बेहुलीको लत्ता कपडासँगै भोजभतेरलगायत सम्पूर्ण व्यवस्थापन पनि गाउँपालिकाले नै गर्ने अध्यक्ष अन्सारीद्वारा जारी सूचनामा उल्लेख छ ।