नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ :  प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए ।

उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

संयोजक प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताए । जेन्जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको उनले बताए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए । मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गरे ।

गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताए । उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ । दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ ।