उम्मेदवारी खारेज भएपछि रेशमले सर्वोच्च गुहारे

उम्मेदवारी खारेज भएपछि रेशमले सर्वोच्च गुहारे

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेउपा नेपालका संरक्षक चौधरी सर्वोच्च पु्गेका हुन् । चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले चौधरीविरुद्ध परेको उजुरीको आधारमा उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगले गैरकानुनी रुपमा उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको निर्णय बदरको माग गर्दै रिट दायर गरेका हुन् । उनले दायर गरेको रिटमा आइतबार प्रारम्भिक सुनुवाइको लागि पेशी तोकिएको छ ।

आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने रिट निवेदकको माग रहेको छ । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीले राष्ट्रपतिबाट माफी मिनाह पाएका थिए । राष्ट्रपतिबाट माफी मिनाह पाए पनि कसुर र कैदको अभिलेख कायमै हुने भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।