काठमाडौं, ५ माघ । नेकपा (एमाले) ले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार बनाएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले ज्ञवालीलाई उम्मेदवार बनाएको हो ।
त्यस्तै, नेपाली कांग्रेसले चन्द्रकान्त भण्डारीलाई सो क्षेत्रबाट उम्मेदवार बनाएको छ । यसअघि २०७९ को आम निर्वाचनमा पनि ज्ञवाली र भण्डारीबीच प्रतिस्पर्धा भएको थियो । गत निर्वाचनको प्रतिस्पर्धामा एमाले नेता ज्ञवाली उपविजेता बनेका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी क्षेत्र नम्बर १ बाट सागर ढकाललाई उम्मेदवार बनाएको छ । ढकाल गत २०७९ को आम निर्वाचनमा डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए ।
गुल्मी क्षेत्र नम्बर १ मा ज्ञवाली, भण्डारी र ढकालबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।