काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन्।
गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन्।
‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ’खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले भनेका छन्।
गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, एमालेबाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन उम्मेदवार बनेका छन्। नेपाली कांग्रेस र रास्वपाले भने उम्मेदवार तय गरिसकेको छैन।