काठमाडाैं। आसन्न फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा नेकपा एमाले र नेपाल परिवार दलबीच ४ बुँदे सहमति भएको छ।
राष्ट्रियता, विकास, लोकतन्त्र, शान्ति र संविधानको खातिर भएको सहमति अनुसार प्रतिनिधि सभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्नेछ भने नेकपा एमालेले उपयुक्त समयमा परिवार दलको प्रतिनिधित्व संघीय संसद तथा प्रदेश सभामा गराउनेछ।
सहमति अनुसार संसद बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनैतिक अस्तित्व रहने तर संसद भित्र नेकपा एमालेको संसदीय दलमा आबद्ध रहने छ। सहमति पत्रमा 'समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सम्पूर्ण देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुलाई नेकपा एमालेलाइ राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न एकजुट हुन आह्वान गरिएको छ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल परिवार दलका अध्यक्ष तथा पुर्व मन्त्री एकनाथ ढकालद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख नगरिएको बिषय आपसी छलफल र सहमतिमा टुङ्गो लगाउने उल्लेख छ।
ओली निबास गुण्डुमा भएको सहमतिमा अध्यक्ष ढकालसहित परिवार दलका महामन्त्री प्रकाश बाबु थापा, सभासद मिलन राजबंशी, सह-महामन्त्रीद्वय डा. रुपसिंह भन्डारी र मनोज कुमार सुर्खेती उपस्थिति थिए। परिवार दल २०७४ साल देखिनै निरन्तर नेकपा एमालेसँगको सहकार्यमा छ।