काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ ।
शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य दलहरुलाई पनि पाठ सिकाएको दाबी गरे ।
उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरुले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवम नौलो सन्देश प्रवाह गरेको बताए ।
उनले भने,‘यो वैधानिक विद्रोह हो, कांग्रेसलाई रुपान्तरित र पुस्तान्तरण गर्ने प्रभावशाली आधार हो । अब देशभर नेपाली कांग्रेसभित्र ठूलो रुपान्तरण आउने निश्चित छ ।’ पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले विशेष महाधिवेशनको महत्व र पावर गाउँ गाउँसम्म र अन्य दलहरुमा पनि संचारित गर्नुपर्ने औंल्याए ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष माधव चौलागाईंले विशेष महाधिवेशनको एजेन्डा सुरुमा आफूहरुले उठाएको दावी गर्दै पार्टीमा अब समावेशीकरणको मुद्दा सशंक्त बनाएर अघि बढ्ने बताए । त्यस्तै कांग्रेस नेता भेषराज आचार्यले इलाम जिल्लामा कांग्रेसभित्र रुपान्तरित अभियान लिएर जानलाई विशेष महाधिवेशनले सहज बनाइदिएको बताए ।
कार्यक्रममा नव निर्वाचित केन्द्रीय सदस्य हिमालय कर्मचार्य, नगेन्द्र कुमाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका महामन्त्री गणेश केसी, कांग्रेस इलामका सभापति डम्बर खड्कालागयतले आफ्नो धारणा राखेका थिए ।