काठमाडौं। सरकार र निर्वाचन आयोग आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जोडतोडका साथ लागिरहँदा मुलुकको सबैभन्दा पुरानो र अघिल्लो चुनावबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस विभाजन भएको छ।
आगामी चुनावको तयारी ठिकठाक ढंगले चलिरहेको बेला मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अचानक फुट्दा आगामी प्रतिनिधिसभा चुनाव नै अन्योलमा परेको छ।
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको मनोनयनको दिन नजिकिँदै गर्दा उत्साहित भएको सरकार र निर्वाचन आयोग नेपाली कांग्रेसमा विभाजन आएसँगै रनभुल्लमा परेका छन्। चुनाव घोषणा भएदेखि निर्वाचन व्यवस्थापन र बन्दोबस्तीको काममा जुटेको निर्वाचन आयोग कांग्रेसमा आएको फुटले अप्ठेरो अवस्थामा पुगेको छ।
प्रतिकूल अवस्थामा निर्वाचनको घोषणा भए पनि ‘जेन–जी’ आन्दोलनकारीदेखि राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर निर्वाचनका लागि सहज वातावरण बनाएको आयोग प्रत्यक्षको मनोनयनतर्फ नजिकिँदै जाँदा राजनीतिक दल विभाजनको झमेलामा परेको हो। मुलुककै पुरानो र निवर्तमान प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विभाजनले दुईमध्ये एक पक्षलाई आयोगले आधिकारिकता दिनुपर्ने हुन्छ । साथै, आधिकारिकता नपाएको अर्को समूहलाई सुरुवाती प्रक्रियादेखि नै निर्वाचन प्रक्रियामा सामेल गराउनु अर्को कठिन र जटिल हुनेछ।
चुनावको सम्मुखमा कांग्रेस विभाजन भएसँगै यसले पार्ने प्रभावबारे लेखाजोखा हुन थालेको छ । राजनीतिक वृत्तमा कांग्रेसको विभाजनको असर मुलुक, वर्तमान राजनीतिक व्यवस्था र संविधानमाथि समेत पर्नसक्ने आशंका गरिएको छ । सबैभन्दा बढी त फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचन पनि प्रभावित हुने आशंका छ । मुख्य गरी राजनीतिक दलहरू आगामी प्रतिनिधिसभा निर्वाचन सर्नेमा सशंकित देखिएका छन् । निर्वाचनको मुखमा भएको कांग्रेसको विभाजनले कांग्रेसका दुवै पक्ष निर्वाचनमा जान नसक्ने अवस्था आउनसक्ने टिप्पणी गर्दै नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले भने, ‘दुवै पक्ष निर्वाचनमा जानसक्ने अवस्था रहँदैन । त्यो भनेको प्रतिनिधिसभा पुनःस्थापना हो । सर्वोच्च अदालतले खुट्टा कमाउनुहुन्न ।’
चुनाव नजिकिएको र समानुपातिक उम्मेदवारको सूची बुझाउने म्याद सकिएको अवस्थामा आधिकारिकता विवाद चर्किनु निर्वाचनका लागि राम्रो संकेत नभएको अधिकांश दलहरूको धारणा छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले कांग्रेस विभाजनको आगामी चुनावमा असर पर्नसक्ने आशंका गरेका छन्। एउटा पार्टी विभाजनको कारण निर्वाचन प्रक्रिया प्रभावित हुन नहुने पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै नेता सापकोटाले भने, ‘कुनै पनि पार्टीभित्र बहस हुनु राम्रो र सकारात्मक कुरा हो । तर, फुट्नु राम्रो होइन । कांग्रेस विभाजनले आसन्न निर्वाचनमा असरपर्ने देखिए पनि एउटा दलको विभाजनले निर्वाचन नै प्रभावित हुन भने हुँदैन।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसको फुटले राष्ट्रिय राजनीतिक प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। कांग्रेसको फुटकै कारणले निर्वाचन प्रभावित हुन्छ भन्न नसकिए पनि दुई पक्षमा विभाजित कांग्रेस निर्वाचनमा सहभागी हुनसक्ने वातावरण बनाउनु चुनौतीपूर्ण हुने उल्लेख गर्दै भने, ‘स्वाभाविक रूपले प्रश्न उठेको छ । एउटा ठूलो हिस्सा निर्वाचनभन्दा बाहिर रहने अवस्था बन्छ कि । तर, यो अवस्था बन्नु हुँदैन।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले नेपालको लोकतान्त्रिक राजनीतिक यात्राको स्तम्भ स्थापित गर्ने अभियानमा रहेको दल संख्या र पदका लागि फुट्नु वा विभाजन हुनु कुनै हालतमा पनि राम्रो मान्न नसकिने स्पष्ट पार्दै भने, ‘कांग्रेसमा सिद्धान्त र दर्शनका लागि नभएर संख्या र पदका लागि भएको लडाइँ हो । यसमा पछि कुन पक्ष हाबी वा कुन पक्ष सही गलत हुन्छ, त्यो निर्वाचन आयोग र अदालतले गर्ने निर्णयमा भर पर्नेछ । कांग्रेसमा आएको फुटले आसन्न निर्वाचन प्रभावित हुनुहुन्न।’
यता पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता विवादबारे फास्ट ट्र्याकमा निर्णय लिनु आवश्यक रहेको बताए। पार्टीभित्रको विवादले चुनावको वातावरण फितलो बनाउने भए पनि निर्वाचन रोक्नु नहुने स्पष्ट पार्दै यादवले भने, ‘चुनावी प्रक्रियाहरू धेरै अगाडि बढेका छन्। एउटा पार्टीभित्रको विवादले चुनावलाई नै असर गरिहाल्दैन । यो सम्बन्धित पार्टीको समस्या हो । असर उसैलाई गर्ने हो । तर, देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीमा आएको विवादले निर्वाचनलाई लिएर आम मतदाता र कांग्रेस कार्यकर्तामा निश्चय पनि संशय बढाएको छ । ३०-३२ प्रतिशत मत ल्याउने पार्टीमा विवाद देखिँदा निश्चय पनि राजनीतिक वातावरणलाई प्रभाव पारेको छ । तर, निर्वाचन आयोगले धेरै तयारी गरिसकेको छ । यस्तोमा चुनाव रोकिनु पनि हुँदैन।’
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दल विभाजनको प्रश्न खडा भइसके पनि निवारण गर्नु अनिवार्य रहेको बताए। आधिकारिकताको विवाद चर्किँदै गए एउटा पक्षले निर्वाचनमा भाग लिनै नपाउनेसम्मको अवस्था आउनसक्ने उल्लेख गर्दै उप्रेतीले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय गुज्रिएको छ । समानुपातिकतर्फ त मतपत्र नै छापिन थालिसकेको छ । यस्तो अवस्थामा दुईमध्ये आधिकारिकता नहुने पक्षले निर्वाचनमा भागै लिन नपाउने अवस्था आउनसक्छ । निर्वाचनमा भाग लिन्छु भनेका दलहरू विभाजित भएमा अर्को पक्ष त्यो निर्वाचनमा भाग लिन नपाउने अवस्था पनि उचित होइन । मैले त फागुनको निर्वाचन सार्नु उचित हुन्छ यसअघि नै सुझाव दिइसकेको छु।’
कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएलगत्तै गगन थापा नेतृत्वको नेपाली कांग्रेस आगामी प्रतिनिधिसभा चुनाव केन्द्रित भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा घोषणापत्र लेखन समिति गठन गरेको हो । बिहीबार कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सभापतिको संयोजकत्वमा निर्वाचनलाई लक्षित गरी घोषणापत्र लेखन समिति गठन गर्नुका साथै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । पहिलो केन्द्रीय समितिबाट प्रवक्तामा नियुक्त हुनुभएका देवराज चालिसेले भने, ‘यो घोषणापत्र केवल घोषणाका लागि नभई एक्सनका लागि भिजन सहितको हुनेछ । कति वर्षमा कस्तो कांग्रेस र कस्तो देश बनाउने भन्ने ठोस योजना र कार्यपद्धति यसमा समेटिनेछ । आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिले देशभर पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्ने र आम नागरिकलाई पार्टीसँग जोड्ने काम गर्छ।’