काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लिएर विभिन्न दलहरुले चुनावी सहकार्य र गठबन्धनको रणनीति अपनाएका छन् । नेपाली कांग्रेस र एमालेबीच पनि चुनावी सहकार्य हुन सक्ने धेरैको आँकलन गरेको थियो । तर, कांग्रेस दुई कित्तामा विभाजन भएसँगै अब एमाले कुन कित्तामा उभिएला भन्ने धेरैको चासो रहेको छ ।
नेकपा (एमाले) का सचिव महेश बस्नेत दुईवटा कांग्रेसमध्ये एउटाको पक्षमा उभिएर सहकार्य गर्नुपर्ने अवस्था आएको खण्डमा संस्थापन पक्ष शेरबहादुर देउवासँग नै एमालेको सहकार्य हुने बताउँछन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सचिव बस्नेतले लोकतन्त्रको निमित्त, ठूलो संघर्ष गरेर प्राप्त भएको जनताको हक अधिकार र उपलब्धी रक्षा गर्ने हिसाबले कांग्रेसको विभाजन दुःखद् रहेको बताए ।
कांग्रेस विभाजन र चुनावी सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एमाले सचिव बस्नेतले भने, ‘यो दुःखद् घटना हो । यो कुरामा हामी दुखित छौं । यतिखेर दुईवटा कांग्रेसमध्ये एउटा कांग्रेससँग सहकार्य गर्नुपर्ने अवस्था आयो भने स्वभाविक ढंगले हामी कांग्रेसको संस्थापन पक्ष, शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको कांग्रेससँग नै हाम्रो सहकार्य हुन्छ ।’