रविको सङ्गठित अपराध र सम्पति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयमा ओलीको आपत्ति

रविको सङ्गठित अपराध र सम्पति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयमा ओलीको आपत्ति

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरेका छन्।

एमालेद्वारा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका साथ अहिले पनि लागिरहेको स्पष्ट पारे।

लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गरे।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाए ।

‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ । लज्जाको विषय बनेको छ । यस्तो पनि हुन्छ ? डिम्बको कारोबार बिर्सौं भन्यो, फेरि अर्को काण्ड । अहिले अभियोग परिवर्तनको काण्ड । दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’ प्रश्न गर्दै ओलीले भने ।