राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ। उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बोहरा कम्मरको कपरेशन गरेर उपचाररत थिए।

सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए। ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका बोहराको निधन भएको हो।

वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक जीवन सुरु गरेका थिए। भिमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताए । उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन्।

प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरे। २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक सल्लाहकार भए। २०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेले। त्यसबेला उनले प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा रहेर समेत काम गरे।