काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर औपचारिक प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।
प्रकाशित कार्यतालिकाअनुसार आज साढे १२ देखि मतदाता नामावली प्रकाशन, २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८ः४५ बजे रहेको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार आज बेलुका ९ बजेबाट भोलि दिनको १ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । मतदान समाप्त भएपछि मत गणना र निर्वाचन परिणाम घोषणाको कार्यतालिका रहेको छ ।
यता विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ । मधेश प्रदेशका प्रतिनिधिहरूले महामन्त्री थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका थिए ।