काठमाडौं। शक्ति संघर्ष र विवादबीच नेपाली कांग्रेस विशेष महाधिवेशन आइतबार (आज)देखि सुरु हुँदै छ । नीति र नेतृत्व हुँदै विकसित बहसले विवादको रूप लिएपछि विशेष महाधिवेशनबाट निर्णायक वारपारको अवस्थामा पुगेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबीच विवाद चर्किंदै जाँदा विशेष महाधिवेशनबाट नेतृत्व नै फेरबदल गर्नेसम्मको अवस्था आउने सम्भावना बढेको छ । पार्टी नीति’boutमात्रै छलफल गर्ने वा नेतृत्व परिवर्तन गर्ने निर्णायक बहसलाई कांग्रेसको भविष्यसँग जोडेर हेरिएको छ ।
विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि उभिएको दावी गरेको छ । तर, संस्थापन पक्ष ‘विशेष महाधिवेशनको औचित्य सकिएको’ भन्दै त्यसमा सहभागी नहुन र प्रतिनिधिलाई रोक्न लागिपरेको छ ।
काठमाडौं भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने विशेष महाधिवेशनले नेतृत्वसमे त परिवर्तन गर्ने निर्णय गर्नसक्ने बताइएको छ । नेताहरू भने ‘नीतिमा मात्रै छलफल गरी पार्टीलाई विभाजन हुनबाट जोगाउनुपर्ने’ भन्दै नेतृत्व चयनसहित पार्टी विभाजन गरिने प्रक्रियामा सहभागी नहुने बताउँछन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं विशेष महाधिवेशन पक्षका नेता अजयबाबु शिवाकोटीले विशेष महाधिवेशन माग गर्दा ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे पनि अहिले त्यो संख्या बढेर ६० प्रतिशतभन्दा बढी पुगेको दावी गरे । विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेको बताए ।
२ हजार ४ सय ८८ जनाको हस्ताक्षरबाट सुरु विशेष महाधिवेशनको मागलाई साथ दिँदै जिल्ला–जिल्लाबाट प्रतिनिधि काठमाडौं आइसकेको शिवाकोटीले जानकारी दिए । उनका अनुसार केही प्रतिनिधि शनिबार जिल्लाबाट डिँहेकाले आइतबार (आज) बिहानसम्ममा काठमाडौं आइपुग्ने छन् ।
पार्टी विधान र व्यवस्थाअनुसारै विशेष महाधिवेशन हुन लागेको बताउँदै शिवाकोटीले यसले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । ‘कतिपयले पार्टी विभाजन होला’ भन्दैगर्दा उनले ‘विशेष महाधिवेशनले पार्टीलाई अझै बलियो बनाउने’ दाबीसमेत गरे। विशेष महाधिवेशन उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा कांग्रेस सपभाति शेरबहादुर देउवालाई नै निम्ता गरिएको छ। तर, देउवालाई निम्ता दिन पुगेका टोलीलाई देउवा सचिवालयले हप्काएर पठाएको बताइन्छ। भृकुटीमण्डपमा आइतबार (आज) दिउँसो १ बज विशेष महाधिवेशन उद्घाटन हुने कार्यक्रम छ।
यसैबीच, विशेष महाधिवेशन स्थगित गर्ने’bout सभापति देउवाले छलफल थालेका छन्। शनिबार अतिव्यस्त देउवाले महामन्त्रीद्वय थापा शर्मासहितका नेतालाई ‘विशेष महाधिवेशन स्थगित गर्न’ दबाब दिएका छन् । तर थापा–शर्मा समूहले ‘कुनै पनि हालतमा नरोकिने’ सन्देश पठाएका छन्।
विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि उभिएको दावी गरेको छ । तर, संस्थापन पक्ष ‘विशेष महाधिवेशनको औचित्य सकिएको’ भन्दै त्यसमा सहभागी नहुन र प्रतिनिधिलाई रोक्न लागिपरेको छ
सभापति देउवाका साथै कार्यबाहक सभापति पूर्णबहादुर खडकासहित संस्थापन पक्षका नेताले ‘प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी नहुन’ दबाब दिँदै आएका छन् ।
तर, महामन्त्रीद्वय थापा–शर्मासहित संस्थापनइतरका नेताले ‘जसरी पनि विशेष महाधिवेशन सम्पन्न गरिने’ अडान लिएका छन् । कांग्रेसभित्र आगामी सभापतिका रूपमा देखिएका डा. शेखर कोइराला भने विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । विपक्षमा उभिएका कोइराला समूहले संस्थापन पक्षलाई साथ दिएका छन् ।
यसअघि, कोइराला, थापा, शर्मासहितका नेता एउटै समूहमा उभिँदै आएका थिए । विशेष महाधिवेशनसँगै संस्थापनइतरका नेतासमेत विभाजित भएका छन् । जेनजी आन्दोलनपश्चात् संस्थापनइतरका नेताले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा अडान लिँदै आएका छन् । निर्वाचनअघि ‘नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने’ अडान थापा र शर्मा समूहको छ ।
तर, संस्थापन पक्षले ‘क्रियाशील सदस्यता टुंगो नलागेको र प्रतिनिधिसभा निर्वाचन’ कारण देखाउँदै तोकिएको नियमित महाधिवेशन स्थगित गर्दै निर्वाचनपछि आगामी वैशाख अन्तिम साता नियमित १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
गत १५ मंसिरमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन २६–२८ पुस काठमाडौ ंमा गर्ने निर्णय गरेको हो । एक महिनाभन्दा बढी समयसम्म चलेको बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो । विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टुंगो लगाएका थिए । कांग्रेसले २८–३१ वैशाख २०८३ मा नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेपछि थापा–शर्मा समूहले यसलाई अस्वीकार गर्दै विशेष महाधिवेशन गर्न लागेको हो ।
यही अडानबीच कांग्रेस दुई समूहमा विभाजित हुँदै पार्टी नै विभाजन हुने चिन्ता र चासो कांग्रेसजनलाई छ । यसैबीच, कंग्रेस महामन्त्री थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीचको निर्णायक मानिएको शनिबारको छलफल बिनानिष्कर्ष टुंगिएको छ । विशेष महाधिवेशन पूर्वसन्ध्यामा सहमति प्रयास असफल भएपछि कांग्रेस विभाजनको सँघारमा पुगेको चर्चा छ । विशेष महाधिवेशन रोक्न र पार्टीभित्रको संकट समाधान गर्न शनिबार रातभर जसो छलफल भए पनि कुनै निकास निस्कन सकेन ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको दाबी गरे । शनिबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ‘विशेष महाधिवेशनको सन्दर्भलाई यही रोक्नुपर्ने’ बताए । आगामी वैशाख अन्तिम साता १५औं महाधिवेशन हुनेगरी भएको संशोधित कार्यतालिका सबैले मान्नुपर्ने उनको जोड छ ।
‘संशोधित कार्यतालिका सबैले मान्नुपर्छ । पदाधिकारी साथीले त झन् निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ, यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन,’ प्रवक्ता महतले भने । विशेष महाधिवेशन रोकेर सम्पूर्ण पार्टी एकत्रित भएर आसन्न प्रतिनिधिसभा निर्वाचनमा लाग्नुपर्ने महतले बताए । वर्तमान अवस्थामा विभाजित नभई नीतिगत प्रस्ताव केन्द्रीय समितिबाट पारित गरेर अघि बढ्नुपर्ने उनको जोड छ ।
तर, कांग्रेस महामन्त्री थापाले ‘विशेष महाधविशन नरोकिने’ प्रस्ट पारे । साथै, विशेष महाधिवेशनपछि आफूले जेनजीसँग मिलेर काम गर्ने मन रहेको उनले बताए । शनिबार भिडिओ सन्देश जारी गर्दै उनले विशेष महाधिवेशनको दौडादौड सकिएपछि राष्ट्रियस्तरको संवाद कार्यक्रम गरी जेनजीसँग मिलेर काम गर्ने उल्लेख गरेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनअघि नै जेनजीसँग संवाद गरी उनीहरूले उठाएका मुख्य मुख्य बुँदा सम्बोधन गर्ने प्रयास गर्नेसमेत थापाले जनाएका छन् । ‘तपाईंहरूको आइडिया सुन्न मन छ, तपाईंहरूसँग सिक्न पनि मन छ । रिफर्म इस्यूजमा ज–जसलाई काम गर्ने मन छ, तपाईंहरूको आइडिया यसमा पोष्ट गर्दिनुभयो भने म नोट पनि लिन्छु र विशेष महाधिवेशनको दौडादौडपछि म रिचआउट पनि गर्छु र तपाईंहरूसँग मिलेर काम गर्ने मन छ,’ जेनजीका सहानुभूति समेट्न थापाले भनेका छन्, ‘हामी मिलेर निर्वाचनअगाडि नै जेनजी आन्दोलनले उठाएका केही मुख्य–मुख्य बुँदाबीच राष्ट्रियस्तरको डाइलग गर्न सक्छौं भन्ने विश्वासका साथ यो पोष्टमार्फत अनुरोध गरेको छु ।’
राजधानी दैनिकबाट