काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोहराले देशको वर्तमान राजनीतिक संरचना र निर्वाचन प्रणालीले स्थिर सरकार दिन नसकेको दाबी गर्दै आफू स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रन लागेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले संविधान संशोधन र निर्वाचन प्रणाली परिवर्तन नगरी देशले खोजेको स्थायित्व सम्भव नहुने बताएका छन् । ‘हाम्रो माग स्पष्ट छ । जबसम्म संविधान संशोधन हुँदैन र निर्वाचन प्रणाली परिवर्तन हुँदैन, देशले चाहेको प्रत्यक्ष कार्यकारी नेतृत्व सम्भव छैन,’ बोहराले भने, ‘देशलाई पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको छ तर अहिलेको संविधानले त्यो अनुमति दिँदैन ।’

उनले वर्तमान व्यवस्थाले युवापुस्ताको आवाज समेट्न नसकेको उल्लेख गर्दै जेनजीका मागहरू बेवास्ता गरिएको आरोप लगाए । ‘यो संविधानले जेनजीका मागहरू पूरा गर्दैन,’ उनले भने । राजनीतिमा सीमित कार्यकर्तामात्र सक्रिय रहेको उल्लेख गर्दै बोहराले आम नागरिक सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

‘राजनीतिमा १०–२० लाख कार्यकर्ता मात्र होमिएका छन तर दुई करोड जनताले यो यथार्थ बुझ्न जरुरी छ,’ उनले भने । बोहराले संविधान संशोधन, युवाका मागको सम्बोधन, राजनीतिक स्थिरता र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए । अस्थिरता सिर्जना गर्ने पुराना र नयाँ शक्तिलाई पराजित गर्दै वास्तविक परिवर्तन चाहने शक्तिलाई जिताउनुपर्ने उनको धारणा छ ।