काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन्।
शुक्रबार घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। घिसिङ लामिछानेलाई भेट्न निवासमै पुगेका थिए। घिसिङ र लामिछानेबीच करिब २ घण्टा ‘वान टू वान’ वार्ता भएको बताइएको छ।
वार्ताका क्रममा घिसिङले एकता प्रक्रियाबारे आफ्नो धारणा राखेको बताइएको छ। घिसिङले एकता प्रक्रिया सम्मानजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्। उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराएका उनलाई उपसभापति बनाउने सहमति भएको छ। तर, घिसिङ अझैंसम्म रास्वपाको कुनै पनि कार्यक्रममा देखा परेका छैनन्।
दलीय राजनीतिमा लागेर नागरिक सरकारका बसेको भनेर चर्का आलोचना र विरोध भएपछि घिसिङले मन्त्री पदबाट राजीनामा दिएका थिए। सभापति लामिछानेसँगको भेटमा घिसिङले एकता प्रक्रिया चाँडै टुङ्ग्याउन र उपसभापतिको जिम्मेवारी दिन दवाब दिएको बताइएको छ।