काठमाडौं, २४ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । हिजोमात्रै सरकारले चुनाव गराउने वातावरण नबनाएको भन्दै सार्वजनिक कार्यक्रममा आलोचनाको लागि समय खर्चिएका ओलीले एक दिन बित्न नपाउँदै आज प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा पुगेर तीन घण्टा लामो भेटवार्ता गरेको खुलेको छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहालसहित बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका ओलीले आज भने तीन घण्टा लामो एक्लाएक्लै भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनीहरुबीच आज चुनावकेन्द्रित तीन घण्टा लामो सम्वाद भएको हो ।
ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भनेका छन् । उनले यो सरकारले चुनाव गराउन नसक्ने भनेर सार्वजनिक रुपमै आलोचना समेत गर्ने गरेका छन् । चुनावी प्रक्रियामा भने एमालेले भाग लिईसकेको छ । समानुपातिकतर्फको बन्दसूची बुझाउनेदेखि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि उम्मेदवार सिफारिशमा एमाले अघि देखिएको छ ।
एमालेले करिब करिब १ सय ६५ निर्वाचन क्षेत्रमा नै उम्मेदवार सिफारिश गरिसकेको छ । आजको भेटमा प्रधानमन्त्री कार्कीले चुनावको तयारीमा होमिएको भन्दै ओलीलाई बधाई दिएकी थिईन् ।