काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिकांश नेपाली आर्थिक रूपमा कंगाल भइसकेको अवस्थामा रहेको दाबी गरे ।
उनले युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै देश कति सुरक्षित छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने समय आएको बताए ।
उनले देश निर्माणका लागि सबै एक ठाउँमा आउन आवश्यक रहेको भन्दै व्यक्तिवाद र विभाजनकारी प्रवृत्ति त्याग्न आग्रह गरे ।
उनले भने, ‘आज हरेक नेपालीहरु सबै कंगाल भैइसकेको स्थिति हो । यो कुरा सबैले बुझ्नुपर्छ । अहिले युवाहरु विदेशिएका छन् । हामी कति सुरक्षित छौं वा छैनौं सोच्नुपर्ने समय आएको छ । देश एकीकरण गरौं र आउनुस् आन्दोलन गरौं । देश बनाऔं त्यसको लागि एक हौं । जेनजीलाई अघि बढाउनुपर्छ की कसलाई अघि बढाउनुपर्छ तयार हुनुपर्छ । तर केही मान्छे रवि, बालेन, हर्क भनेका छन् भने केहीले राजा राजा भन्दै आइरहेका छन् । तर यो देश बनाउने नै हो भने यो प्रवृत्ति छोड्नुपर्यो र एक ठाउँमा आउनुपर्यो ।’
पछिल्लो समय विभिन्न व्यक्तित्व वा व्यवस्थाको पक्षमा देखिएको विभाजनले राष्ट्रिय उद्देश्यमा बाधा पु¥याएको उनको भनाइ थियो । कार्यक्रममा प्रसाईंले राजसंस्थाको आवश्यकतामाथि पनि जोड दिए । उनले राजसंस्था चाहिने हो भने त्यसका लागि त्याग गर्न तयार हुनुपर्ने उल्लेख गर्दै आफू आधा सम्पत्ति दिनसमेत तयार रहेको बताए । उनले देश र राष्ट्रको संरक्षणका लागि सबै पक्ष एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘राजा चाहियो भने नि म जस्तो जोगी भएर हिड्नुहोस् । सबै त्यागेर आउनुहोस । मेरो आधा सम्पत्ति दिन तयार छु, राजा ल्याउन लडौं। आजको आवश्यकता राजसंस्था हो ।’