रास्वपाको केन्द्रीय समिति बैठक भोलि, बन्दसूची सच्याउने विषयमा मुख्य छलफल

रास्वपाको केन्द्रीय समिति बैठक भोलि, बन्दसूची सच्याउने विषयमा मुख्य छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणलगायतका महत्वपूर्ण राजनीतिक विषयमा छलफल हुनेछ।

साथै, पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, संगठनात्मक संरचना बलियो बनाउने उपाय र भावी कार्यदिशाबारे गहन विचार–विमर्श हुने जनाइएको छ।

यसैबीच, रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा देखिएका त्रुटिहरू आयोगले तोकेको समयसीमाभित्र सुधार गर्ने निर्णय गरेको छ। पार्टीले विभिन्न सरोकारवाला र आम नागरिकबाट प्राप्त प्रतिक्रिया तथा सुझावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सचिवालयद्वारा जारी सूचनामा समय अभावका कारण अन्तिम समयमा गर्नुपरेका राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पारिएकाले केही कमीकमजोरी देखिन गएको हुनसक्ने उल्लेख छ।

सुझावहरू प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने जनाइएको छ। निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीलाई लिएर पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।