समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने, ९३ मध्ये ६४ दलले पेश गरे बन्दसूची

समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने, ९३ मध्ये ६४ दलले पेश गरे बन्दसूची

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ ५८ वटा चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रवार पत्रकार सम्मेलनमा उक्त जानकारी दिए।

उहाँका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिक तर्फको बन्दसूची पेश गरेका छन्।

बन्दसूची पेश गर्ने दलमध्ये ५४ वटा दलले आ–आफ्नो निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रहेर चार वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन्।

भट्टराईले भने, “विगतमा बन्दसूची पेश हुनुअघि नै मतपत्र छापिने भएकाले धेरै ठूला मतपत्र बनेका थिए र मतदातालाई समस्या भएको थियो। यसपटक भने बन्दसूची पेश गरेका दलका चुनाव चिन्ह मात्र समेटेर मतपत्र छापिने छ। हालसम्मको विवरण अनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने लगभग निश्चित छ। तर बन्दसूची रुजु प्रक्रिया जारी भएकाले कुनै दलको सूचि अस्वीकृत भएमा संख्या घट्न सक्छ।”

उनले निर्वाचन प्रक्रियासँग सम्बन्धित अन्य जानकारी पनि दिए। बन्दसूचीमा भएको उम्मेदवारको नाम फिर्ता लिन चाहेको बेलामा मात्र नाम परिवर्तन गर्न सकिनेछ, अन्यथा अन्तिम सूचि प्रकाशित भएपछि कुनै परिवर्तन सम्भव नभएकाे उनले बताए।

साथै निर्वाचनमा पर्यवेक्षणका लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएका छन् ।

यस प्रकार आयोगले यस पटकको समानुपातिक निर्वाचनलाई व्यवस्थित र मतदाताका लागि सहज बनाउने प्रयास गरेको प्रवक्ता भट्टराईले जानकारी दिए।