कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन : अध्यक्ष यादव

कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।

उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।

उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको बताए ।

कांग्रेस र कम्युनिष्टको मनमा खोट भएको कारणले प्रदेशलाई हक अधिकारबाट वञ्चित गरेर राखिएको अध्यक्ष यादवले बताए ।

कांग्रेस र कम्युनिष्टले मिलेर संघीयता कमजोर पारेर समाप्त पार्ने खेलमा लागेको उनले बताए । देशलाई चौपट र बर्बाद गर्नमा कांग्रेस र कम्युनिष्टको मात्र हात रहेको अध्यक्ष यादवले बताए ।

मधेश प्रदेश ८ जिल्लामा मात्र सिमित नरहेकोले प्रदेशलाई पुनः सिमांकरण गर्न पर्नेमा उनले जोड दिए । मधेश र मधेशी जनाताको हक अधिकारका लागि चुनावमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।

अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले सम्पूर्ण मधेश र मधेशीको हक अधिकारका लागि लड्ने दलहरुलाई एकीकृत हुन आग्रह गरे ।