काठमाडौँ । नेकपा एमालेका निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो समूहले गरेको महाधिवेशन समीक्षा भेलालाई गलतरुपले नबुझ्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै प्रतिस्पर्धी समूहमा भएको सानो छलफल र बिदाइलाई लिएर साथीहरु तरंगित हुन नपर्ने बताएका छन् । अध्यक्षका प्रत्यासी बनेका पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्वको कतै पनि कसैबाट विरोध नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘भरखरै नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । त्यहाँ उठेका छलफलका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनु भएका साथीहरूका बीचमा भएको सामान्य र बिदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नु भएको प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ ।’
उनले लेखेका छन्, ‘विगतमा पटकपटक पार्टीभित्रको बहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएको पृष्ठभूमिका बारेमा हामी जानकार नै छौँ । त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौँ र पीडित पनि रह्यौँ । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ? एउटा कुरा–विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन–हुन दिइने छैन । संस्थागत गरिएका (वा गरिने) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता–कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन् ! कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन् । र, त्यस्तो नहुँदा वा हुन नसक्ता त्यसप्रति असहमति वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि !’