रिहा भए रवि लामिछाने

रिहा भए रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेर ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो।

बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्। लामिछाने भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरूले उनको पक्षमा नाराबाजी गर्दै खुसीयाली मनाएका छन् ।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही शर्त र बैंक जमानतको कागज गरेर छाडिएको बताए ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्व‍य वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।