काठमाडौं। नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत जारी नेतृत्व चयनका लागि मतदानको समय तीन घण्टा थप गरिएको छ।
महासचिवका प्रत्यासी शंकर पोखरेलका अनुसार, साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएकोमा अब तीन घण्टा थप गरी ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने भएका छन्।
मतदान सुस्त गतिमा भइरहेको छ। लामो मतपत्र र प्यानल सूचीका कारण मतदाताहरू लामो समय अल्मलिनु परेको छ।
प्यानल सूची बिना आएका मतदाताले लगभग ३० मिनेटमा मतदान सकेका छन् भने सूची बोकेर आएका मतदाताले डेढ घण्टासम्म समय खपत गरेका छन्।
आज ५ बजेसम्म करिब ८ सय मतदाताले मतदान गरिसकेका छन्। दिउँसो ३ बजेसम्म ६ सय ५० मत खसिसकेको थियो। मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग भइरहेको छ।
एमाले महाधिवेशनमा जम्मा २ हजार २६३ प्रतिनिधि सहभागी छन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल प्रतिष्पर्धामा छन्।