काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आफूहरु सुशासन र निर्वाचनमा केन्द्रीत भइरहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको पनि बताईन् ।
उनले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरु आतुर रहेको पनि बताएकी छन् । निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले सबैलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउने एकमात्र विकल्प निर्वाचन रहेको बताईन् । प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउन नहुने धारण राखिन् । उनले शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताईन् । उनले खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुने बताउँदै यसमा हातेमालो गर्न आग्रह गरिन् ।