धमाधम शीर्ष नेताहरुले साथ छाड्न थालेपछि संकटमा ओली

धमाधम शीर्ष नेताहरुले साथ छाड्न थालेपछि संकटमा ओली

काठमाडौं। महाधिवेशनमा आफूले आकांक्षा राखेको पदमा उम्मेदवारी दिन नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् । यसअघि ओलीको पक्षमा वकालत गर्दै आएका कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, रघुजी पन्त, राजेन्द्र गौतम, प्रदीप ज्ञवालीलगायतका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् ।

पार्टीको १०औं महाधिवेशनका उपमहासचिव बनेका ज्ञवालीले यसपटक महासचिवमा प्रतिस्पर्धा गर्न चाहेका थिए । ज्ञवालीलाई अध्यक्ष ओलीले उपाध्यक्षको उम्मेदवार बनाउन खोजेपछि उनले पदाधिकारीको कुनै पनि पदमा उम्मेदवारी नदिई फर्किएका छन् । स्रोतका अनुसार ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै मनोनयन दर्ता गराएका छन् । ज्ञवाली अ‍ोलीका विश्वासपात्र मानिदैआएका थिए ।

त्यस्तै, यसअघि आफ्नै क्याविनेटमा शिक्षामन्त्री बनेका पन्तले पनि ओलीको साथ छाड्ने तरखर गरेको चर्चा सुरु भएको छ । पदाधिकारीमा ओलीले नसमेटेपछि पन्तले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष उठ्ने तरखर गरेको स्रोतको दाबी छ ।

त्यसैगरी ओलीको प्यानलबाट सचिव उम्मेदवारका आकांक्षी रहेका गौतमले पनि स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ओलीलाई फुटबलको प्लेसँग तुलना गरेर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले पनि साथ छाड्न लागेका छन् । श्रेष्ठले अध्यक्षका अर्को उम्मेदवार पोखरेलको समूहबाट उचिवमा उम्मेदवारी दिएको बताइएको छ ।

त्यस्तै, यसअघि ओलीका विश्वास पात्र मानिएका गोकूल बास्कोटा पनि चिढिएका छन् । यद्यपि बास्कोटाले केही समयअघिबाटै ओलीको साथ छाडेको संकेत गरेका थिए । बास्कोटाले केही समय पहिलादेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्दै आएका थिए । बास्कोटाले पोखरेल समूहबाट सचिवमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसैगरी ओलीको क्याम्पमा राजनीति गर्दै आएको अग्नि खरेल, भीम आचार्यलगायतले पनि साथ छाड्ने संकेत गरेका छन् । यसरी धमाधम शीर्ष नेताहरुले साथ छाड्न थालेपछि ओली थप संकटमा परेका छन् । गत मंसिर २७ गतेबाट सुरु भएको एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोलि (पुस १ गते) निर्वाचन हुने कार्यतालिका रहेको छ । यसरी शीर्ष नेताहरुले साथ छाड्नुले ओलीमाथि थप राजनीतिक संकट सुरु भएको आँकलन गरिएको छ ।