रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन महिनाभित्र हुने चुनावमा सहि ब्यक्तीलाई चुन्न आग्रह गरेका छन् ।
निर्वाचनबाट आएका सहि ब्यक्तीबाट चुनिएको नेतृत्व पनि सहि हुने उनको भनाइ छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित जन्मोत्सव पार्कमा शुक्रबार तराई विकास तथा सञ्चार केन्द्रले गरेको कार्यक्रममा बोल्दै उनले देश परिवर्तनका लागि सहि ब्यक्ती र नेतृत्वको आवश्यकता रहेको बताए । पूराना ब्यक्ती भन्दा पनि सहि ब्यक्ती राजनीतिमा आउन आवश्यक रहेको उनले औँल्याए ।
अबको तीन महिना भित्रमा चुनाव हुने दाबी गर्दै जेनजी आन्दोलनको परिवर्तनबाट नै अन्तरिम सरकार बनेको उल्लेख गरे । ‘आगामी दिनमा चुनावमा जानुपर्ने छ, उनले भने; ‘अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व आउँनुपर्छ ।’
कर्मचारी भएर काम गर्दा ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको दाबी गर्दै उनले मुलुक अँध्यारोबाट उज्यालोतर्फ अघि बढेको बताए ।
कर्मचारी भएर काम गरिसकेकाले देशमा परिवर्तन गर्नका लागि नै आफू राजनीतिमा होमिएको मन्त्री घिसिङले बताए ।
उनले आगामी निर्वाचनमा आफूहरूलाई विजयी गराए देशमा परिवर्तन आउने बताए । बारा, पर्सा र रौतहटको पूर्वाधार क्षेत्रमा भएको कामको अनुगमन समेत मन्त्री घिसिङले गरेका थिए ।
विविध समस्याका कारण पुल–सडकजस्ता महत्वपूर्ण पूर्वाधारहरू अधुरो रहने र जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले निर्माण व्यवसायीहरूले पनि समयमै काम नसकाएको आरोप लगाए । वर्तमान सरकार, शासन सुधार, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रणाली निर्माणका लागि प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।