काठमाडौं। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो।
लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ। लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो।
विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावरप्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।
६-३ र ३०-४ को अवस्थामा पुगेको विराटनगरका लागि हिजलेट र डे लाङले २८ रनको साझेदारी गरेका थिए । तर, यो साझेदारी ब्रेक भएपछि विराटनगरको ब्याटिङ कोल्याप्स भयो ।
लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए । र, अभिशेष गौतमले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । जेजे स्मिथले पनि २ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
टिमको स्कोर ८ हुँदा दिनेश अधिकारी व्यक्तिगत १ रनमा आउट सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहितले ३० बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३४ रन योगदान गरे ।
लगातार दोस्रो खेलमा ओपनिङ गरेका दिनशे अधिकारीले राम्रो ब्याटिङ गर्न सकेनन् । यस्तै विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गरी २९ रन जोडे ।
सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट हुँदा दिलीपन नाथ पनि १ रन बनाएर आउट भए । शेर मल्लले ७ रन जोडे ।
पहिलो १० ओभरमा ६९/१ को अवस्थामा रहेको लुम्बिनीले त्यसपछिको १० ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन । पछिल्लो १० ओभरमा लुम्बिनीले ६५ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।
विराटनगरका बलरहरू विशेष गरी सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै नियमित विकेट लिंदा लुम्बिनीको इनिङ्स दबाबमा परेको थियो ।
सुभाषले ४ ओभरमा १६ रन खर्चेर ३ केट लिए । प्रतिशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।