काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा काठमान्डु १६.५ ओभरमै ११८ रनमा अलआउट भयो।
काठमान्डुतर्फ ओपेनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए भने जोन सिम्पसनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक छुन नसके।
सुदूरपश्चिमका बलर स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए। त्यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले कमजोर शुरुवात गर्दै ४ रनमै ३ विकेट गुमाएको थियो।
तर १६औँ ओभरमा २१ र १७औँ ओभरमा २४ रन जोड्दै टोलीले लय समायो। कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहले इनिङ्स उकास्न महत्वपूर्ण भूमिका खेले। हर्मितले २० बलमा २ चौका र ६ छक्कासहित ५३ रनको विस्फोटक पारी प्रदर्शन गरे।
काठमान्डुतर्फ करण केसीले ४ विकेट लिए भने सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट हात पारे।